सिलवाल आईजी वन्ने सम्भावना बढ्यो,मुद्दाको पेशी तोकियो

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उक्त मुद्दाको सुनुवाई सात न्यायाधीश सम्मिलित बृहद् पूर्ण इजलाशमा हुनेछ ।

न्यायाधीशहरुमा देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी रहेका छन् ।

सरकारले प्रहरीको आईजीपीमा प्रकाश अर्याललाई बढुवा गरेको निर्णयविरुद्ध डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । सरकारले अर्याललाई आईजीपीमा बढुवा गर्दा कार्यसम्पादन मूल्यांकनलगायतमा अर्याल अगाडि रहेको जनाएको छ । तर, सिलवालले रिट निवेदनमा आफू आईजीपीका प्रतिस्पर्धीमध्ये वरीयता, कार्यसम्पादन मूल्यांकनलगायतमा सबैभन्दा अघि रहेको दाबी गरेका छन् ।

उक्त रिट निवेदनमा वैशाख १९ गते सुनुवाइको मिति तोकिए पनि सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाअभियोग दर्ता गरेपछि मुद्दा प्रभावित भएको थियो । उक्त दिन स्थगित भई वैशाख २९ गते मुद्दाको सुनुवाइ हुने मिति तोकिए पनि त्यस दिन पनि निर्वाचनलगायत विषयलाई मध्यनजर गरी सुनुवाइ स्थगित गरिएको थियो ।

यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गर्दा पनि चन्दलाई एक नम्बरमा रहेका डीआईजीको दाबी गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारको निर्णय बदर गर्न आदेश दिएको थियो । साथै, सरकारबाट प्राप्त सक्कल फाइलकाअनुसार आईजीपीका लागि योग्य उम्मेदवारहरुमा डीआईजी नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, बमबहादुर भण्डारी तेस्रो र जयबहादुर चन्द चौंथो रहेको ठहर गरेको थियो ।

सर्वोच्चले योग्यतम डीआईजीलाई बढुवा गर्न परमादेश दिँदै घुमाउरो पारामा नवराज सिलवाल आईजीपी हुनु सबै कोणबाट उपयुक्त रहेको जनाउ दिए पनि सरकारले सर्वोच्चको आदेशलाई उल्लंघन गर्दै दोस्रो नम्बरका प्रकाश अर्याललाई आईजीपी बनाएको हो । प्रहरी संगठनमा सधैं पहिलो नम्बरमा रहेका एआईजी, एआईजी नभएको खण्डमा डीआईजीलाई आईजीपी बनाउने प्रचलन छ । प्रहरीमा चेन अफ कमाण्डको महत्व हुने भएकाले पनि यस्तो प्रचलन रहेको छ ।
मुलधारन्युजबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up