गगन थापाको राजनीति सिध्याउने डकुमेन्ट छ तर सार्वजनिक गर्दिनँ (भिडियो)

केशब स्थापित, पूर्व मेयर काठमाडौं महानगरपालिका

स्थानीय तहको निर्वाचन नजिकिँदै गएको छ । तपाईको नाम पनि काठमाडौंको मेयरका रुपमा चर्चामा छ । तपाईको आफ्नो तयारी चाहिँ कस्तो छ ?

मेरो तयारी भन्दा पनि, मैले यसबारे पार्टी अध्यक्षसँग दुई तीन चरणमा कुराकानी गरेको छु । उहाँले जो आए पनि काठमाडौं जित्ने उम्मेदवार हुनु पर्छ भन्नु भएको छ । जसरी भए पनि काठमाडौं जित्ने मेयर उम्मेदवार चाहिएको छ । उपाध्यक्ष बामदेव गौतमसँग पनि कुरा गरे । उहाँहरु सबैको भनाइ के छ भने जित्नु पर्छ । जित्ने उम्मेदवार जो भए पनि हुन्छ भन्ने छ । मैले पार्टीका लागि गरेको योगदान, मेरो विकासको भिजन, जनताको सेवा आदिलाई हेर्दा चुनाव जित्ने उम्मेदवार त मै हो । काठमाडौंमा धुलो धुवाबाट पीडित, सार्वजनिक बसमा सास्ती खेप्ने, दमकल एम्बुलेन्सको सुविधा नपाएका लाखौ मानिसहरुलाई यस्ता समस्याबाट पार लगाउने व्यक्ति केशब स्थापित हो भन्ने विश्वास छ । कतिसम्म भने अरु पार्टीका नेताहरुको पनि नाम त आएको छ । तर हेर्नुहोस् त कति पत्रकार साथीहरु म कहाँ आइसक्नु भयो । खै त अरुकोमा गएको ? यसले पनि ममाथिको विश्वास र भरोसा प्रकट गर्दैन र ?

मानौं, तपाईलाई पार्टीले टिकट दियो, अब तपाईका योजनाहरु के के हुनेछन ?

मेरो योजना भनेको पार्टीको पक्ष पोषण गर्ने हो । कहि राजनीति छ, कतै अराजनीति छ । काठमाडौं महानगरपालिकाको निर्वाचन भनेको दुई तीन लाख सचेत मतदाताहरुको छनोट हो । त्यो छनोटमा एमालेको पक्षमा उभार ल्याउन सकियो भने ठूलो कुरा हो । काठमाडौं महानगरको बजेट कम्तिमा ३० अर्ब हुन्छ । काठमाडौंको यो सानो भूगोलमा त्यो कहाँ खर्च गर्ने त ? यसकारण क्षेत्र विस्तार गर्नु पर्छ । मानौं लुभुसम्म मोनो रेल लैजाने रे । अब लुभुको विकास नगरी मोनोरेल लुभु पुग्छ त ।

अवश्य पुग्दैन । ५ सय नगर बस सञ्चालन गर्दा काठमाडौं, भक्तपुर ललितपुर भएर नै चल्ने हो । त्यसकारण त्यहाँका बाटाघाटा पनि बन्नु पर्छ । यसकारण काठमाडौं वरपरका नगरपालिकाहरुलाई पनि मेरो उम्मेदवारी वा एमालेको विजयले सहयोग पुर्याउँछ । उपत्यका जित्नु भनेको ठूलो विजय हो । तिव्र गतिको विकास गर्नका लागि पनि यो आवश्यक छ । उपत्यका कब्जा गर्ने, तिव्र विकास गर्ने र मेची महाकालीमा एमालेको उभार ल्याउने योजना छ । यसो गर्ने बित्तिकै ५–६ महिनामै विकासको यस्तो लहर ल्याइदिने कि केन्द्रको निर्वाचनमा एमालेले पुरै कब्जा गरिदिने योजना हो मेरो ।

कसैको पनि बहुमत नभएको ‘हङ’ पार्लियमेन्टले दुःख दियो । महान जनयुद्ध गर्ने महान नेता प्रचण्ड हुन भनेको हैन ? निर्णय क्षमतामा हेर्नुस त कसरी फुस्स भएका । यसकारण एमालेले नै बहुमत ल्याउनका लागि अब मेचीकाली उभार आवश्यक छ ।

कुनै बेला काठमाडौंलाई मात्रै राज्यले महत्व दिएको अरु क्षेत्रलाई वेवास्ता नगरेको गुनासो थियो । पछिल्लो समय सबै क्षेत्रको विकासका लागि एमालेले कार्यक्रम ल्यायो, त्यो कार्यक्रम बुझाउनकालागि मेची महाकाली अभियान थाल्यो । त्यो सन्देश फैलिन्छ कि ? जनताले थाहा पाउँछन कि भनेर त मेची महाकालीमा अवरोध भएको हो । जुन दिन त्यो सत्य मधेसका जनताले थाहा पाउँछन् अहिलेका यी नेताहरु त समाप्त हुन्छन् ।

काठमाडौंको मेयरमा मैले जित्ने सम्भावना धेरै छ । तर अर्को कुनै जित्ने पात्र अगाडि आएमा मैले त्यो पात्रलाई जिताउन ज्यान फालेर लाग्ने हो । मूल कुरा जसरी पनि एमालेले काठमाडौंको मेयर जित्ने हो ।

एमालेलाई जिताउने बाहेक अरु विकासका योजना के के छन् ?

त्यो त छ । तर मैले देखेको के भने नी यदि मलाई मेयरको उम्मेदवार बनाइयो भने उपमेयर जननेता मदन भण्डारीको छोरीलाई बनाउनु पर्छ । त्यो भयो भने समावेशी पनि हुन्छ । म बुद्ध धर्म मान्ने, उनी हिन्दु धर्म मान्ने । म नेवार उनी ब्राम्हण, म पुरुष उनी महिला । हामी दुईलाई अगाडि सार्ने हो भने अरु कोही अगाडि आउनै सक्दैन । उता गगन थापाको हेर्नुस त । मन्त्री छाडेर काठमाडौंको मेयरमा आउछु भनेका छन् । भएको मन्त्री छाडेर उनी मेयरमा निर्वाचन लडन आउलान त ? यता हारे भने त राजनीति सकिएन ? हाम्रो प्रतिस्पर्धी भनेको कांग्रेस नै हो ।

हाम्रो उम्मेदवार बलियो भए पछि उनीहरुको उठ्ने आँट नै आउँदैन । अर्को कुरा हाम्रो नेपालको आम संस्कार भनेको जित्नेलाई भोट हाल्ने हो । यसकारण हामी जित्छौं भन्ने भए पछि जनताले मत दिन्छन् । हाम्रो पार्टीको उम्मेदवार घोषणा भए पछि समाजका सबै तह र तप्का, क्षेत्र, पेशा व्यवसायका मानिसहरुलाई हामीलाई अग्रिम बधाई भन्छन् । सबै प्रिन्ट मिडियामा अग्रिम बधाई भनेर छापिएपछि सकिएन ? अनि सोच्नुस त पार्टीको हाइट कहाँ पुग्छ ? नेपाल आजको सहयोगमा

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up