नेपालको पानि जनताको लगानी: अब अनलाईनबाट जलविद्युतमा शेयर लगानी गर्न सकिने

काठमाडौं, २५ पुस । ऊर्जा मन्त्रालयले अनलाईनमार्फत शेयर लगानी प्रतिवद्धता आव्हान गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपाली नागरिकले अनलाईन मार्फत शेयर लगानी गर्न पाउने गरी नयाँ वेवसाईट संचालनमा ल्याउनुभएको छ । वेवसाईटमा राखिएको अनलाईन आवेदन शफ्टवेयरमार्फत देश विदेशमा रहेका नेपाली नागरिकहरुले जलविद्युत आयोजनामा शेयर लगानीको प्रतिवद्धता पेश गर्न सक्नेछन् ।

ऊर्जामन्त्री शर्माले अघि सार्नुभएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तरगत जलविद्युत आयोजनामा शेयर हाल्न अब कसैले पनि लाईन बस्नु पर्ने छैन ।

संसारको कुनै पनि कुनामा रहेका नेपालीहरुले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी ३ सहितका आयोजनाहरुमा शेयर लगानी गर्न सक्नेछन् । मन्त्री शर्माका अनुसार यसमा गैरआवासीय नेपाली, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछ ।

कसरी भर्ने अनलाईन फाराम ?
ऊर्जा मन्त्रालयको वेवसाईट वा जनार्दन शर्मा डट कम भन्ने वेवसाईटमा ‘नेपालको पानी जनताको लगानी’ भन्ने स्लट देखिन्छ । यसमा क्लिक गरेपछि अनलाईन आवेदन भर्ने अप्सन डिस्प्ले हुन्छ । यसमा जानासाथ लग इन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ, यसका लागि लगइन भन्दा तल ‘क्रिएट न्यू एकाउन्ट भन्ने बटन छ ।

त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । त्यसपछि तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ । अनि मात्र तपाईले तपाईले शेयर लगानी फारम भर्न सक्नुहुनेछ ।

पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नु पर्नेछ । त्यसपछि तपाईले अर्कोे पेजमा जानुपर्छ र लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारी गरी चार वर्ग रहेका छन् ।
अर्को चरणमा इच्छाइएको व्यक्तिको विवरण भर्नुपर्छ । अर्को पेजमा लगानी योजना भर्नुपर्छ । यसमा तपाईले लगानी गर्ने कुल रकम भर्नुपर्छ जुन पाँच वर्षको योजना हुनेछ ।

यो लगानी प्रतिवद्धता जनाउनासाथ पैसा जम्मा गर्नुपर्दैन । पछि यसबारे ऊर्जा मन्त्रालयले सूचना निकाल्नेछ र तपाईले प्रतिवद्धता अनुसार लगानी गर्नुपर्नेछ ।

संबन्धित