धोनीले दिए भारतीय टिमको कप्तानबाट राजीनामा

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले भारतको एकदिवसीय र ट्वीट्वान्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार धोनीले आफूले कप्तानी छोडेको भारतीय क्रिकेट बोर्ड बिआइसिसीलाई जानकारी गराइसकेका छन्। उनले सन् २०१४ को डिसेम्बरमा भारतको टेस्ट टिमको कप्तानीबाट पनि राजीनामा दिइसकेका छन्।

बिआइसिसीका प्रमुख कार्यकारी राहुल जोहरीले भारतीय क्रिकेट टिमका प्रशंसक र बोर्डको तर्फबाट धोनीलाई उनले कप्तानको रुपमा सबै फर्म्याटमा गरेको अभुतपूर्व योगदानका लागि धन्यावाद दिएका छन्।
धोनीले सन् २००४ मा भारतीय टिमबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। २००७ मा उनी भारतीय टीट्वान्टी टिमको कप्तान बनेका थिए। उनकै कप्तानीमा भारतले २००७ को टीट्वान्टी विश्वकप जितेको थियो। राहुल द्रबिड पछि धोनीले भारतीय एकदिवसीय टिमको कप्तानी सम्हालेका थिए। उनकै कप्तानीमा भारत सन् २०११ मा अाइसिसी विश्वकप जितेको थियो। सन् २०१३ मा भारतले च्याम्पियन्स ट्रफी जित्दा पनि भारतीय टिम धोनीकै कप्तानीमा थियो।
धोनीले तीनै फर्म्याटका ३३१ खेलमा भारतको कप्तानी सम्हालेका छन्। तीमध्ये १७८ खेल जितेका छन् भने १२० खेल भारतले हारेको छ। कप्तान बनेपछि उनले एकदिवसीय क्रिकेटमा ६६३३ रन बनाएका छन् भने टीट्वान्टीमा १११२ रन हानेका छन्।
बिअाइसिसीले नयाँ कप्तानको नाम घोषणा गरेको छैन तर भारतीय टेस्ट टिमको कप्तानी सम्हालिरहेका विराट कोहली नै एकदिवसीय र टीट्वान्टी टिमको पनि कप्तान हुने सम्भावना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कप्तानबाट राजीनामा दिएपनि धोनी यही जनवरीमा इंग्लयाण्ड विरुद्ध हुने वान डे र टी २० क्रिकेटका लागि भने उपलब्ध हुनेछन्। सेतोपाटी बाट