साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको भिडन्त भारतसंग, भिडन्त सोमबार दिउँसो २:१५ बजे

सिलिगुडी, १६ पुस, भारतको सिलिगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालको भिडन्त भारतसंग हुने भएको छ । यसअघिका तीन संस्करणसम्म फाइनलमा भिडेका नेपाल र भारत चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा भने सेमिफाइनलमै भिड्ने भएका हुन् ।

तीन संस्करणसम्म भारत विजेता र नेपाल उपविजेता बनेको थियो । तर यसपटक भने एक टिम सेमिफाइनलबाटै विदा हुने भएको छ । जुन टिमले जिते पनि हारे पनि एउटा कीर्तिमान बन्नेछ । भारत पराजित भयो भने तीन पटकको च्याम्पियन सेमिफाइनलबाटै बाहिरिने छ । नेपाल र भारतबीचको भिडन्त सोमबार दिउँसो २ः१५ बजे हुनेछ । समूह चरणको विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई ९–० ले, भुटानलाई ८–० ले तथा श्रीलंकालाई १–० ले हराएको हो । नेपालको समूहबाट माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारत अर्को समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारतले अफगानिस्तानलाई हराउँदा बंगलादेशसंग गोलरहित बराबरी खेलेको हो ।

बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् । नेपालका लागि अब उद्धार गर्ने साबित्रा भण्डारी नै हुनेछिन् । उनले यसअघिका दुई खेलमा ११ गोल गरेकी थिइन् ।