रक्सीको मातमा ‘लिभिङ टुगेदर’ महिला कोठामा जान नमान्दा हत्या

काठमाडौं : टोखा नगरपालिका ७ धामासीमा बस्दै आएको गोरखाकी पूर्णिमा विकको आइतबार हत्या भयो।

उनको हत्या गर्ने व्यक्ति सोमबार बिहानै पक्राउ परेका छन्। हत्या गर्ने व्यक्तिलाई प्रहरीले धापासीबाटै पक्राउ गरेको हो। पूर्णिमाको हत्या गर्ने अरु कोही नभएर उनीसँगै बस्दै आएका पर्साका विजय तामाङ हुन्। महिलाको हत्या भएको प्रहरीमा सूचना पुगेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरीष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

यसरी भएको थियो पूर्णिमाको हत्या

पूर्णिमा विक (३२ वर्ष) र विजय तामाङ (३० वर्ष) सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। उनीहरू घर निर्माणको काममा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए। राम्रो आम्दानी गर्दै आएका उनीहरू कोठामा बसेर मादक पदार्थ सेवन गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ।

सँगै बस्न थालेको केही महिनापछि उनीहरूबीच मनमुटाव सुरु भएको थियो। जसका कारण पूर्णिमा कहिले कोठामा आउने त कहिले बाहिरै बस्ने गर्न थालेकी थिइन्।

पूर्णिमाको व्यवहारले विजय हैरान हुँदै गएका थिए। जसका कारण उनीहरूबीच पटक पटक झगडा हुने गरेको विजयले प्रहरीलाई बयानका क्रममा बताएका छन्।

विजयका अनुसार आइतबार साँझ पनि कामबाट दुवैजना सँगसँगै कामबाट कोठामा फर्किएका थिए। धापासी हाइटमा पुगेर उनीहरू भट्टी पसलमा छिरे र रक्सी खाए।

रक्सीको मात शरीरमा चढ्दै गएपछि पूर्णिमाले विजयलाई गाली गर्न थालेको विजयले बयानका क्रममा भनेका छन्। झगडा बढ्दै गएपछि पूर्णिमाले विजयसँग कोठामा नजाने भन्न थालिन्। जति जोडबल गरेपनि पूर्णिमा कोठामा जान राजी नभएपछि विजयले आफूलाई रिस उठेको र सोही झोकमा पूर्णिमालाई तानेर सडक छेउ लगेर टाउकोमा ढुंगाले हानी हत्या गरेको स्वीकारेका छन्।

पूर्णिमाको हत्यापछि रक्सीको मातमा रहेका विजय कोठामा गएर भात पकाएर खाई सुते। बिहान महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए साथै विजयको हुलियासमेत टिपाएका थिए।

विजयको खोजीमा रहेको प्रहरीले उनलाई धापासीबाटै पक्राउ गरेको थियो। विजयले हत्या गर्न प्रयोग गरेको ढुंगा र रगतले लत्पतिएको कपडा कोठाबाट बरामद गरेको छ। रासस

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up