नवराज सिलवालको बाटोमा रमेश खरेल पनि…

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि रन्थनिएर डिआइजीबाट राजीनामा दिएका रमेश खरेलको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ ।

प्रहरी प्रमुख बन्ने उनको चाहना स्वभाविक भएपनि धेरैले उनको राजीनामालाई भने त्यति रुचाएका थिएनन् । गृहमन्त्री रामबहादुर थापाले घरायसी कारण देखाउँदै दिएको खरेलको राजीनामा स्वीकृत गरेपछि उनको आगामी यात्राका बारेमा चर्चा–परिचर्चा हुन थालेका छन् ।

गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेको छ । मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए ।

त्यसपछि गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो । प्रहरी संगठनबाट बाहिरिएका डिआइजी नवराज सिलवाल राजनीतिमा होमिए । उनी एमालेमा प्रवेश गर्नुका साथै प्रतिनिधिसभा निर्वाचनमा टिकटसमेत प्राप्त गर्न सफल भए र विजयी पनि भए । नवराज सिलवालले कोरेकै बाटोमा रमेश खरेल पनि हिड्ने सम्भावना प्रवल रहेको जानकारहरु बताउँछन् । स्रोतहरुले खरेल सम्भवतः छिटै राजनीतिक रंगमञ्चमा देखिने बताएका छन् ।

डिआइजी खरेल अहिले तत्काल नखुलेको भएतापनि उनको पनि लक्ष्य राजनीतिमा जाने नै रहेको विश्लेषण गर्न थालिएको छ । प्रहरी प्रमुख बन्नका लागि महत्वाकांक्षालाई स्वाभाविकै मानिएको छ तर एक्कासी राजीनामा नै दिनुलाई भने धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । खरेलमा प्रहरी संगठनको नेतृत्व गर्ने क्षमता नभएको भने होइन, तर वरियताक्रमका आधारमा सर्वेन्द्रले नेतृत्व सम्हाल्ने सौभाग्य सर्वेन्द्र खनाललाई प्राप्त भयो ।

डिआइजी खरेलको राजीनामाको चर्चा आइरहँदा धेरैले उनलाई हतारमा राजीनामा दिन नहुने सल्लाह दिएका थिए । पूर्वगृहमन्त्री जनार्दन शर्माले समेत उनलाई राजीनामा नदिन सल्लाह दिएका थिए । खरेलले भने धेरैको चाहनाविपरीत राजीनामा दिइछाडे । त्यसैले पनि उनी राजनीतिमा सक्रिय हुन लागेको अनुमान लगाउनेहरुको संख्या बढेको हो ।

हक्की स्वभावका खरेलको अबको यात्राबारे विभिन्न अनुमान र विश्लेषण हुनु स्वभाविक नै छ । तर, यसअघि बरियताक्रम मिचेर आफूलाई पछाडि पारेको झोंकमा एमालेमा प्रवेश गरेर सासंद बनेका पूर्व डिआजी नवराज सिलवालको सिको खरेलले पनि गर्ने सम्भावना नै प्रवल देखिएको छ ।

डिआइजी खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सँगै निरीक्षकको परीक्षा उत्तीर्ण गरी प्रहरी निरीक्षक भएका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up