‘मैले त्यो डिजाइन देखेँ भने यो प्रक्रियालाई भत्काउन पनि कुनै आइतबार कुर्नु पर्दैन’ प्रचण्ड

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी तीन दशकदेखि नेपालको राजनीतिमा एउटा विशिष्ट स्थान र निर्णायक प्रभाव राख्न सफल राजनीतिज्ञकाे रूपमा चिनिन्छन् । माओवादी स्कूलिङको नेतृत्व गरेर जनयुद्द हुँदै समावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गरेका प्रचण्ड अहिले फेरि एउटा नयाँ ऐतिहासिक मोडतर्फ नेपाली राजनीतिलाई डो¥याउन चाहन्छन् । यद्यपी उनी भन्छन्– अग्रगमनका पक्षमा मैले चाल्न खोजेको कदममा अवरोध भए अर्को मोडतर्फ फड्को हान्न म तयार छु । उनै प्रचण्डसँग नयाँ वर्ष २०७५ को आगमनको अवसरमा लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छाैँ ।

सर्वप्रथम यहाँ, यहाँको पार्टी र परिवारलाई नयाँ वर्षको हार्दिक शुभकामना छ ।

यहाँहरुलाई पनि म, मेरो पार्टी र परिवारका तर्फबाट हार्दिक शुभकामना ।

गतवर्ष यति बेला हामी निर्णायक अवस्थामा थियौं । गणतन्त्र संस्थागत गर्न कैयन् चुनौतिमाझ तपाईले सत्ता हस्तान्तरण गर्नुभएको थियो । कसरी समीक्षा गर्नुहुन्छ वर्ष २०७४ को ?

२०७४ साल अविस्मरणीय वर्षको रूपमा नेपालको इतिहासमा रहन्छ । किनभने गत वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन होला कि नहोला भन्ने निकै ठुलो सन्त्रास नेपाली जनताको मनमा थियो । एउटा शङ्का व्याप्त थियो । समस्या र चुनौतीहरू पनि धेरै थिए । ती सबैको सामना गरेर देशलाई निर्वाचनतिर लैजाने चुनौति हामी सामु थियो । मैल प्रधानमन्त्रीको रूपमा स्थानीय तह निर्माण गर्ने कुरा र स्थानीय तहको निर्वाचनतिर देशलाई लैजाने कुरालाई प्राथमिकतामा राखेर त्यो ऐतिहासिक जिम्मेवारीलाई कैयन् अप्ठ्यारा र जटिलताका वावजूद स्थानीय तहको पहिलो निर्वाचन मेरो नेतृत्वमा गर्न सफल भएको थिएँ ।

नेपाल राष्ट्र र नेपाली जनतालाई अगाडि राखेर यो संविधान कार्यान्वयन गरेर जानुपर्छ भनेर स्थानीय तह निर्माणमा पनि धेरै मेहनत गरेर मेरै नेतृत्वमा त्यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएर सत्ता हस्तान्तरण गरेको थिएँ । त्यो सम्पन्न भईसकेपछि जो प्रधानमन्त्री भए पनि शुरु भएको प्रक्रिया रोकिँदैन थियो । शुरु भएको प्रक्रिया बीचमा रोक्नुको अर्थ त्यो प्रधानमन्त्री र त्यो पार्टी पूरैका पुरै असफल र बदनाम हुन्थ्यो ।

त्यस कारण मैले जतिबेला प्रधानमन्त्री हस्तान्तरण गरेँ नेपाली काँग्रेसका सभापतिलाई पुरै आत्मविश्वासको साथ गरेको थिएँ । अब यो रोकिँदैन, बीचमा अड्किने ठाउँ कतैपनि छैन भनेर नै मैले हस्तान्तरण पनि गरेँ र साँँच्चै मैले परिकल्पना गरेजस्तै, मैले सोचेजस्तै रोकिएन पनि र अहिले तीनै तहको निर्वाचन पनि सम्पन्न भयो ।

भनेपछि यसलाई सफल वर्षका रुपमा लिनुहुन्छ ?

हो, २०७४ साललाई हामीले बिदा गर्दै गर्दा एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समावेशी चरित्रको संविधान कार्यान्वयनको एउटा असाध्यै महत्त्वपूर्ण वर्षका रूपमा नेपालको इतिहासले संझिनेछ । अहिले हामी २०७५ मा प्रवेश गरेका छौं । अव यो २०७५ चाहिँ स्थिरता र विकासको वर्ष हो । विकासले एउटा नयाँ गति लिएको वर्ष हो । यो वर्षलाई अहिलेसम्म नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न राज्यको तर्फबाट विशेष पहलको वर्षको रूपमा सम्पन्न गर्ने हाम्रो इच्छा र प्रयास छ।

२०७४ को अन्त्य हुँदै गर्दा एउटा नयाँ ऐतिहासिक मोडको सुरुवात पनि यहाँहरूले गर्नुभएको छ । राजनीतिक रूपमा र विकासको दृष्टिले पनि । यो २०७५ मा यहाँको आफ्नो सङ्कल्प चाहिँ के छ ?

देशमा राजनीतिक स्थायीत्व र सुशासन, पारदर्शी, भ्रष्टाचार मुक्त शासनको शुरुवात र विकासका दीर्घकालीन, मध्यकालीन र अल्पकालीन परियोजनाहरू अगाडि बढाउने वर्षको रूपमा यो जाओस् भन्ने मैले चाहेको छु। दोस्रो, त्यही उद्धेश्यको निम्ति नै हामीले कम्युनिस्ट एकता, वामपन्थी एकताको कुरा गरेका हौं ।

साझा घोषणा र साझा उम्मेदवार बनाएर चुनाव लड्यौँ । हाम्रो घोषणालाई र सङ्कल्पलाई नेपाली जनताले भरोसा गरेर अत्यधिक बहुमत दिएपछि हामीले सोचेजस्तै त्यो आधार तयार भएको छ । यो आधारलाई सुदृढ गर्ने र वामपन्थी एकतालाई अझ सफलतापूर्वक सम्पन्न गराउने र विकासलाई अझ गति दिने नै हाम्रो २०७५ को मोटामोटी परिकल्पना छ ।

व्यक्तिगत रूपमा यहाँले जहिले पनि सपना र संभावनाहरुसँग खेल्दै आउनुभयो । २०७५ को शुरुवातसँग तपाईँ फेरि एउटा सम्भावना बोकेर फड्को हान्न खोज्दै हुनुहुन्छ । यो नयाँ बाटोको अवसर र जोखिमलाई कसरी हेर्नुहुन्छ ?

जतिबेलादेखि मैले एउटा पार्टीको नेतृत्व सम्हालेँ त्यतिबेला देखि नै बस्तुगत परिस्थितिको आँकलन गरेर भविष्य यस्तो होला भन्ने परिकल्पना गरेर थोरै जोखिम उठाउने नै मेरो विशेषता रहँदै आयो । मेरो स्वभाव भनौँ, मेरो चरित्र भनौँ, त्यस्तो हुँदै आयो पनि । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको समयमा म भर्खरै पार्टीको महासचिव भएको थिएँ ।

हामी सानो भएपनि त्यो परिस्थितिको सबै आँकलन गरेर एकताकेन्द्र बनाउने, अनि पाँच वर्षपछि फेरि माओवादी बनाउने, त्यसपछि जनयुद्धमा जाने, त्यसपछि शान्ति प्रक्रिया, त्यसपछि संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र अहिले फेरि वामपन्थी एकतामार्फत देशमा स्थिरता र विकास ल्याउने भनेर यी परिकल्पना र जोखिमहरू श्रृङ्खलाबद्ध रूपले अगाडि आएका छन् ।

अहिले जनताको मुख्य चाहना विकास रहेको छ । तीव्र विकास होस, छिटोछिटो गाउँघरमा सबैतिर विभिन्न खालका विकास र परियोजनाहरू आउन भन्ने छ । यही प्रक्रियाबाट नै त्यो विकास सम्भव छ भनेर नै कम्युनिष्ट एकता र वामगठबन्धनको नयाँ अध्यायको शुरुआत गर्न चाहेका हौं ।

तुलनात्मकरुपमा एजेन्डा त माओवादीकै छ, प्रचण्ड नेतृत्वकै एजेन्डाहरूमा देश त चलेकै छ। तर संख्या सानो भएको हुनाले अव प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव (नेचर)ले दिँदैन के तल बस्न । तल पर्नै दिँदैन, मेरो चरित्रले दिँदैन ।

यहाँहरुले भनेजस्तो विकास, समृद्धि र न्यायको संघर्षमा यो नयाँ मोडप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

मैले एउटा कुरा के भन्ने गरेको छु भने राजनीतिमा चालिने कुन पहल (स्टेप)ले राष्ट्र र जनताको बढी हितगर्छ भन्ने कुरा परिस्थिति अनुसार हेरफेर भईराख्छ । एउटै भईराख्दैन । मान्छेहरूले एउटा मात्रै परिकल्पना गरेर हिँडे भने त्यसैमा यथास्थितिमै चलिराख्न बढी सजिलो मान्छन । तर नेतृत्व (लिडरशीप)को विशेषता परिस्थितिले माग गर्ने बित्तिकै फड्को हान्ने हुन्छ । दायाँ हान्नुपर्ने हो कि, बायाँ हाँन्नु पर्ने हो कि, अघि बढेर जानुपर्ने हो कि, अलिकति पछि हट्नुपर्ने हो कि ? भन्ने निर्णय गर्ने त्यस्तो काम पार्टी र लिडरले गर्छन् ।

विज्ञानले र इतिहासले हामीलाई सिकाएको पनि त्यही कुरा हो । अहिले पनि हामी एउटा प्रक्रियाबाट अघि बढेका छौं, हाम्रो लक्ष (टार्जेट) चाहिँ एउटै रहन्छ– राष्ट्रको र जनताको हित, स्थायीत्व र विकास । तर त्यसलाई प्राप्त गर्ने विधिमा यदि बाटोमा अवरोध आयो भने, अहिले हामीले चाल्न खोजेको बाटोमा अवरोध देखियो भने त्यसलाई पन्छाएर फेरि अर्को ढङ्गले पहल लिन पनि तयार हुनुपर्छ भन्ने लाग्छ मलाई ।

त्यसैले राजनीति सम्भावनाको खेल पनि हो । भन्नुको तात्पर्य त्यसलाई विशुद्ध खेलको रूपमा नभएर परिस्थितिमा हेरफेर भयो भनेपछि त्यो हेरफेर भएको कुरालाई ठिक ढङ्गले आँकलन गर्ने, मूल्याङ्कन गर्ने र अर्को कदम चाल्न जरुरी प¥यो भने अर्को कदम चाल्न पनि तयार हुने कुरा भन्न खोज्ने हो मैले । सम्भावनाको खेल भन्दाखेरी चाहिँ त्यसको त्यो अर्थ हो । अहिले पनि ती संभावनाहरुतिर मेरो ध्यान चाहिँ छ ।

२५ वर्ष यता नेपालको राजनीति मूलतः एजेन्डाको हिसाबले तपाईँको वरिपरि केन्द्रित रह्यो । कतिपयले तपाईँले चालेको कदमलाई प्रचण्डयूगको अन्त्यको रूपमा पनि लिएका छन् । यो सम्भावनाको खेलमा अबको बाँकी राजनीति पनि तपाईँको नेतृत्व वरिपरि केन्द्रित हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

निकै संवेदनशील कुरा तपाईँले राख्नुभयो । झन्डै ३० वर्षदेखिनै मैले लिएको पहल वा अगाडि सारेका मुद्धाहरु राष्ट्रिय राजनीतिको केन्द्रमा हुनु, विद्रोह हुनु, शान्ति हुनु, संविधान बन्नु, एउटा ठुलो यूग नै परिवर्तन हुने गरी राजनीतिक परिवर्तन हुनु, राजतन्त्रबाट गणतन्त्रमा जानु सामान्य कुरा होइन । यो सबै हुनु र त्यो सबै प्रक्रियामा म नेतृत्वमा रही राख्नु मेरो लागि गर्वको कुरा हो । बिरलै एउटै मान्छे विद्रोहको पनि नेता, शान्तिको पनि नेता, संविधानको पनि नेता, सबै भूमिकामा निरन्तर रहिराख्ने र टिकिराख्ने भन्ने सामान्य कुरा होइन । यो गौरव मलाई प्राप्त भयो । नेपाली जनताले मेरो पार्टीले मलाई त्यो जिम्मेवारीमा राखिराख्यो, त्यो भरोसा गरिराख्यो । मेरो लागि यो खुसीको कुरा हो ।

अव तपाईँको प्रश्नको अर्को पाटोमा जाँदा मेरो स्वभाव, मेरो प्रवृत्ति, मेरो राजनीतिक इतिहासले मलाई त्यस्तो लाग्दैन । बिहानमात्रै युवाहरूको जमात मलाई भेट्न यहाँ आउनुभएको थियो । मैले भने अर्को १० वर्ष म सक्रिय राजनीति गर्छु भन्ने विश्वास छ ।

म ६४ भएँ, ७४/७५ सम्म म एक्टिभ्ली नै गर्छु र राष्ट्रिय राजनीतिमा मेरो भूमिका बनाइराख्छु । अहिले कतिपयले यो पार्टी एकता, वाम गठबन्धनबाट तुलनात्मकरुपमा एजेन्डा त माओवादीकै छ, प्रचण्ड नेतृत्वकै एजेन्डाहरूमा देश त चलेकै छ। तर संख्या सानो भएको हुनाले अव प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव (नेचर)ले दिँदैन के तल बस्न । तल पर्नै दिँदैन, मेरो चरित्रले दिँदैन ।

यदि मैले त्यहाँ अवरोध देखेँ, यी एजेन्डा कमजोर पार्ने, नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्न पर्छ जस्तो लाग्दैन मलाई । त्यो भत्काएर पनि अगाडि बढिहाल्छु । तर अहिले भत्काउन पर्ने स्थिति चाहिँ बन्या छैन । मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्स्वास छ ।

तपाईले यसो भनेपनि दुईवटा भिन्न स्कुलिङ्ग र फरक कार्यशैली भएको सङ्गठनहरू एक हुने क्रममा जाँदा तपाईले भनेजस्तो होला र ?

पार्टी र आन्दोलनमा अन्ततः विचार र राजनीतिक मुद्दा नै प्रधान हुन्छ । विचार कस्तो र प्रवृत्ति के भन्ने कुरा नै मूल राजनीतिक मुद्दा पनि हो । अहिले नेपालमा जुन राजनीतिक परिवर्तन भएर नयाँ संविधान कार्यान्वयनमा गएको छ, त्यसमा हाम्रो छाप छ, माओवादीको छाप छ । यो कुरालाई सबैले स्वीकारेका छन् र स्वीकार्नुपर्छ । यो कम्युनिस्ट एकताको प्रक्रियामा पनि यो कुरा स्वीकारिनु पर्दछ ।

माओवादी आन्दोलनको त्याग, तपस्या, बलिदान, एजेन्डा, सबैका कारणले नै मुख्य रूपमा यो परिवर्तन भएको हो भन्ने कुरा स्वीकार्ने बित्तिकै समस्या आउँछ जस्तो लाग्दैन । तर यसलाई स्वीकार्न कसैलाई गाह्रो लाग्छ भने समस्या आउन सक्छ। पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई । आ–आफ्नो ठाउँमा, आ–आफ्नो भूमिकामा रहन सक्नुप¥यो । यदि ऐतिहासिक सच्चाईलाई स्वीकार्न गा¥हो लाग्छ भने किन जबर्जस्ती गर्नु पर्यो ? रोईरोई त एकता हुँदैन नि । हाँसिखुसी हुने हो एकता । मलाई विश्वास छ, माओवादी केन्द्र र नेकपा एमालेका साथीहरू पनि सबै हाँसीखुसीमा नै दुईवटैको सम्मान हुने गरी इतिहासको सच्चाईलाई पनि स्थापित गर्ने गरी नै एकता हुन्छ भन्ने मेरो विश्वास छ ।

हामी कुरा विकासको समृद्धिको, भ्रष्टाचार विरोधको, सामाजिक न्यायको गर्ने तर पार्टीभित्रका प्रवृत्ति, विचार र कार्यशैलीहरू हेर्दाखेरी कताकता अन्तरबिरोधी भएजस्तो लाग्दैन ?

त्यस्तो मलाई लाग्छ । त्यो हाम्रा आदर्शहरू, उद्देश्यहरू, हाम्रा भाषणहरू र आचरणहरूमा अन्तरबिरोध परेको छ भन्ने त लाग्छ । तर मलाई भने यो बदल्नै नसक्ने स्थितिमा पुगिसक्यो भन्ने चाहिँ लाग्दैन । एकचोटी फेरि बल गरेर यसलाई बदल्नुपर्छ । जस्तो आदर्श र उद्देश्य छ, त्यसै अनुकूलको आचरण हुनेगरी पार्टी पुनर्निर्माण, र पुनर्गठन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

एकताको प्रक्रियामा खास खास जटिलताहरु के छ अहिले ?

एकताको प्रक्रियामा दुर्इवटा कार्यदलले दुर्इवटा प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको स्थिति छ । हामी दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र मैले पढेर त्यसलाई अन्तिम रुप दिन सकेका छैनौं । अहिले उहाँले पक्कै पढ्नुभएको होला । मैले चाहिँ पढेँ । अव एकचोटी पार्टी एकता संयोजन समिति बसेर ती विषयमा छलफल गरेर अन्तिम निर्णय गर्नु बाँकी छ ।

खास विवादका विषयहरु के हुन ?

अव एउटा कुरा के हो भने दुईवटा पार्टी, दुईवटा वैचारिक धारा र दुईवटा आन्दोलनको विकासबाट आएका छौँ । त्यस कारण त्यसलाई सम्मानजनक एकताको मोडालिटी खोज्ने चुनौति छ । केही कुरा हामीले टुंग्याई नै सकेका छौँ । दुईवटा अध्यक्ष रहने प्रणालीबाट जाने भनेर । अहिलेलाई महाधिवेशनसम्मका लागि । तर त्यो दुईवटा अध्यक्ष वास्तवमा नै दुईवटै अध्यक्ष कार्यकारी हुन्छन् कि एउटा अध्यक्ष सेरेमोनियल, एउटा अध्यक्ष एक्जुकेटिभ हुने अवस्था हो भन्ने कुरा निक्र्यौल भएको छैन । यदि त्यसो भयो भने त्यसले चाहिँ समस्या पार्छ ।

त्यसैले त्यसको मोडालिटी कसरी प्रयोगमा आउँछ भन्ने पनि कुरा छ । त्यसैगरी हिजोको इतिहासलाई कसरी मूल्याङ्कन गर्ने, जनयुद्धको भूमिका, जनयुद्धलाई, जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि छ । त्यसपछि एकता गर्दाखेरी ठ्याक्कै केन्द्र र तलका कमिटीहरू के आधारमा निर्माण गर्ने भन्ने कुरा छ । हामीले सम्मानजनक र बराबरीको सिद्धान्तमा टेकेर एकताको मोडल तय गर्नुपर्छ भन्ने कुरा छलफल भैराखेको छ । त्यसपछि निर्वाचन चिन्ह कस्तो हुने भन्ने कुरा पनि छलफलमै छ ।

मुख्य कुरा मैले अघि भने नि अहिलेको परिवर्तनको बिचार र आन्दोलनको यथोचित सम्मान र मूल्याङ्कन धेरै महत्त्वपूर्ण कुरा छ । यो सम्मानजनक भएको जस्तो लागेन यो वा त्यो पक्षलाई भने फेरि एकता जटिल हुन सक्छ । एकतामा केही ढिलाइ हुन सक्छ । फर्किने कुरा त सोच्दै नसौँचौँ, अगाडि नै जाने हो अहिले । छलफल पनि सकारात्मक नै छ फेरि, नकारात्मक भयो भन्ने पनि होइन । तर केही विषय प्रतिवेदन आईसकेपछि टुङ्गो लगाउनुपर्ने चाहिँ पक्कै पनि छ ।

भनेपछि छिटै एकतामा जान्छौँ भन्ने कुरामा आशा राख्नुप¥यो । ?

जान्छौँ भनेर आशामात्रै होइन त्यसमा भरोसा नै गर्नुपर्ने हुन्छ । मैले फेरि भने नि राजनीति सम्भावनाको खेल हो भन्ने कुरालाई पनि ब्याक अफ द माईण्ड, दिमागको एउटा कुनामा त त्यो पनि राखिराख्नु पर्छ । अन्धो भएर एकतातिर भन्ने चाहिँ हुँदैन ।

अन्तमा यहाँले २०७५ मा नेपाली जनतालाई सन्देश दिँदाखेरी के दिन चाहनुहुन्छ ?

म आम नेपाली जनतालाई पहिला त बधाई र शुभकामना भन्न चाहन्छु । आम नेपाली जनताको सक्रिय सहभागितामा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर त्यो संविधान कार्यान्वयनको निम्ति जुन निर्वाचन भयो त्यसको निम्ति म विशेष रूपले आम नेपाली दिदीबहिनी दाजुभाइहरूलाई बधाई दिन चाहन्छु ।

पहिलाे कुरा नेपाली जनाताकाे सक्रिय सहभागिता बिना यो ऐतिहासिक कार्य सम्पन्न गर्न सम्भव थिएन । दोस्रो कुरा देशलाई स्थायीत्व र विकास पनि आम जनताको सङ्कल्प र सक्रियताबिना सम्भव छैन । त्यसको निम्ति म हार्दिक अपिल पनि गर्न चाहन्छु ।

एभरेष्टदैनिकका लागि गाेकर्ण भट्टले गरेकाे कुराकानी भट्टकै अनुमतिमा समय सान्दर्भिक लागेर हामीले साभार गरेका हाैँ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up