कुबेतमा १० वर्ष आजीवन काराबास सजाय भुक्तान गरेर नेपाल फर्किएकी डोल्माले पाइन् हक

डोल्मालाई चेक हस्तान्तरण

ललितपुर । कुबेतमा १० वर्ष आजीवन काराबास सजाय भुक्तान गरेर नेपाल फर्किएकी डोल्मा शेर्पाले लामो समयपछि आफ्नो खातामा रहेको रकम पाएकी छन् । बैंकिङ प्रक्रिया पूरा गरी डोल्मालाई बिहीबार माइती नेपालमा एक समारोहकाबीच चेक हस्तान्तरण गरिएको हो ।

अधिवक्ता सजनी जोशीले प्रक्रिया पूरा गर्न केही ढिलो भएको भन्दै सम्पूर्ण प्रक्रिया पूरा गरी चेक हस्तान्तरण गरिएको बताइन् ।

गत असारमा नेपाल फर्किएपछि उनको खातामा रहेको रकमको चेक लगायत अन्य कागजपत्र हस्तान्तरण गरिएको थियो । तर खातामा कारोबार नगरेकै कारण बैकको नियम अनुसार खाताको रकम रोक्का भएको थियो ।

उक्त चेक अभियानकी संयोजक तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले शेर्पालाई हस्तान्तरण गरेकी छन् ।

गोर्खाको चुमलिङ माइती र सिन्धुपाल्चोकको गोम्थाङ घर भएकी डोल्मा वैदेशिक रोजगारको लागि कुबेत पुगेकी थिइन् ।

शेर्पालाई आफ्नै घरमा काम गर्ने फिलीपीनो महिला (साथी) मारेको अभियोगमा कुबेतको तल्लो अदातलले मृत्युदण्डको सजाय गरेको थियो । कुबेतमा राजु नागपाल नाम गरेको व्यक्तिले डोल्माको बारेमा माइती नेपालमा इ–मेल मार्फत घटनाको बारेमा विस्तृत जानकारी दिएका थिए ।

माइती नेपालले नेपाल सरकारको विभिन्न निकायमा छलफल गरि माइती नेपालकै पहलमा २०६४ पुस ६ गते ‘डोल्मा बचाऊ अभियान’ समेत सञ्चालन गरि रकम संकलन गरेको थियो ।

कुबेती कानुनमा यदि पीडित पक्षले रगत रकम (ब्लड मनि) लिन मन्जूर भएमा मृत्युदण्डबाट छुट पाउने कानुनी व्यवस्था छ । नेपाल सरकार र माइती नेपालको पहलबाट मृतकको परिवारसँग छलफल गरि मृतकको परिवारले रगत रकम (ब्लड मनि) लिन राजी भएपछि ब्लड मनि बुझाइएको थियो ।

ब्लड मनिका लागि नेपाल सरकार, विभिन्न संघसंस्था तथा नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपालीहरुबाट संकलित रकम मृतकका परिवारलाई बुझाइ उनीलाई मृत्युदण्डको सजायबाट माफी गराई जेल सजाय मात्र दिईएको थियो । ब्लड मनिबाट बाँकी रहेको रकम डोल्माकै नाममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमीटेड, दरवारमार्गमा बैंक खाता खोली जम्मा गरिएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up