कलेजो दान गरी डाक्टरलाई बचाएकी जीवनदान दिने साक्षात देवी शान्ता

काठमाडौ। गोविन्द प्रसाद शर्मा पेसाले डाक्टर र प्राध्यापक हुन । उमेरले छ दशक काटिसकेका उनी २०६८ सालतिर कलेजो क्यान्सरले थला परे । उनको जीवन जोगाउन डाक्टरहरुले हर तरहले प्रायस गरे । केही लागेन । डाक्टरले हार माने र अन्तिम दिन तोकदिए । साठी दिनभित्र उनी मर्ने बताइयो । संगै, झिनो आशा पनि देखाइयोः कसैले कलेजो दान गरेमा शर्माको जीवन जोगिन्छ ।

सास रहिन्जेल आश भनेझैं डा. शर्माको लागि कलेजोको खोजी सुरु भयो । नजिकका आफन्तहरु कलेजोको प्रसंग आएपछि टाढाटाढा हुन थाले । अधिकांश आफन्त रगत परीक्षण गर्न समेत तयार भएनन् । कलेजो दानका लागि ईच्छा देखाइहालेका आफन्त मध्ये कसैको उमेर मिल्दैनथ्यो, कसैको रगतको समूह । आफू ठाऊंमा हुंदा शर्माले धेरैलाई जागिर लगाइदिएका थिए । उनको एक वचनले कैयौंको जिन्दगीमा रंग भरिएको झल्झलि सम्झिए । परिअाउँदा विन्ति सुनेदिने कोही भएन । इन्तु न चिन्तु भए शर्मा । मृत्युसम्भोगका लागि मानसिकरुपमा तयार हुन थाले । जीवनको दियो निभ्दैछ भन्ने थाहा हुंदाको पीडा अरुलाई के था ? गांईगुई चल्यो । डाक्टर शर्मा मर्दैछन् रे ।

शान्ता पोखरेलले पनि यो अशुभ खबर सुनिन् । नाताले भान्जी शान्तालाई शर्माजस्तो असल व्यक्तिको अकालको मृत्यु सह्य थिएन । मानवता र करुणाले उनलाई रोक्न सकेन । मामाको छट्पटी देख्न सकिनन् । परिवारको सल्लाह बिना आफ्नो कलेजो टुक्रा पारेर दान दिने निर्णय गरिन । उनको यो निजी विषय थियो । उनले कलेजो दान दिन्छु भने पनि परिवारले दिन पाउन्नस् भन्न सकेन ।

कलेजो प्रत्यारोपणका लागि दिने व्यक्ति नजिकको नातेदार (लिभिङ डोनर) वा मस्तिस्क मृत घोषित (ब्रेन डेथ डोनर) हुनुपर्ने प्रावधान छ । विकसित मुलुकमा कलेजो प्रत्यारोपण मस्तिष्क मृत्यु भएका दाताहरुबाट गरिन्छ । अष्ट्रेलियाले त मस्तिष्क मृत्यु भएका सबैजसोको कलेजो प्रत्यारोपणमा प्रयोग गर्दछ । हाल एसियाली मुलुकमा अंगदानको विषयमा जनचेतना वृद्धि भएको छ । एसियालीहरु पनि मस्तिष्क मृत्यु तथा जीवित दाताबाट कलेजो प्रत्यारोपण गर्न थालेका छन् । सोको अर्को सिंढी बन्ने भइन् शान्ता ।

दुई सन्तानकी आमा शान्ताले कलेजो दान गर्ने प्रस्ताव गरिन् । पहिला गोविन्दले नै शान्ताको प्रस्ताव अस्विकार गरे । आफु बांचेपनि शान्ताको बिजोग भइहाले कसरी हेर्नु ? उनलाई दकस लाग्यो । धार्मिक मान्यताअनुसारपनि भान्जीको केही त लिन हुदैन, त्यसमाथि कलेजो । एकातिर भान्जीको भावि जीवन, अर्कोतिर नजिकै रहेको मृत्यु । डाक्टर शर्मा धर्मसंकटमा परे । शान्ताले नाइनास्ति गरिन । शर्मासंग पनि विकल्प थिएन ।

नेपालमा कलेजोको शल्यक्रिया र प्रत्यारोपाण हुँदैन । यो जोखिमपूर्ण शल्यक्रिया हो । भारतको दिल्ली जानुपर्ने बाध्यता छ । अहिले नेपालमै कलेजो रोगको परीक्षण हुन थालेको छ । रोगको पहिचानसम्म हुनसक्छ । कलेजो विरामीको पूर्ण तथ्याङ्क छैन । शान्ताको काठमाण्डौं–दिल्ली दौड सुरु भयो । गुडगावंस्थित अत्याधुनिक मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया हुने भयो ।

डाक्टरहरुले परीक्षण सुरु गरे । परीक्षणको तालिका २२ दिनको थियो । यस बीचमा रगत परीक्षण, दिसा, पिसाव, मुटु, सुगर, मृगौला, फोक्सो, कलेजो आदिको परीक्षण हुने भयो । परीक्षण सफल भएपछि कलेजोको क्रस म्याच गर्नुदपर्दछ । त्यसपछि पुनः तीन पटकसम्म रगत परीक्षण गराउनु पर्दछ । सबै परीक्षण सफल भएपछि कलेजको शल्यक्रिया र प्रत्यारोपण हुने भयो ।

शान्ता उमेरले चालिस नाघेकी थिइन् । शल्यक्रिया सफल नहुंदा ज्यानपनि जान सक्छ । ज्यान बंचेपनि दीर्घरोगी हुने जोखिम हुन्छ । आंखा वरिपरि छोरा छोरा घुम्न थाले । उनको प्रस्ताव सुनेका तर नाइ भन्न नसकेका श्रीमान् झल्झल्ती दिमागमा आउन थाले । छेवैमा थिए मामा गोविन्द । उनी पछाडि फर्कर्नेवाला थिइनन् । शल्यक्रियाको प्रक्रिया तालिकाअनुसार अगाडि बढ्याे ।

डा. गोविन्द र शान्ताको सबै परीक्षणबाट कलेजो लिन र लिन मिल्ने देखियो । शल्यक्रियाभन्दा पहिला अस्पतालले नेपाल सरकारको नो अवजेक्सन लेटर, डोनरको नागरिकता, डोनरको अभिभावकको नागरिकता र दुबैको नातासम्बन्धको प्रमाणपत्र, दाताका बाबुआमासँगको लिने व्यक्तिको सम्बन्धको प्रमाणपत्र, नेपाल मेडिकल बोर्डको सिफारिस, स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको पत्र र त्यसमा सरकारी स्वीकृति प्रमाणपत्रहरुको माग गर्याे ।

सामान्यजनका लागि यति धेरै कागजात समयमा जुटाउन असम्भव थियो । कागजात बटुल्दाबटुल्दै डाक्टर गोविन्दको ज्यान जाने दिन आइसक्थ्यो । शान्ताका श्रीमान चर्चित पत्रकार हुन् । पुरुषोत्तम दाहालको पहुंच र प्रभावलेमात्र समयमै कागजात बटुल्न सम्भव भयो । शल्यक्रियाका लागि २९ प्वाइन्ट रगत चाहिने भयो ।

विदेशमा फ्रेस रगत पाउन गाह्रो हुने नै भयो । फेरि दाहाल दलिए । पत्रकारको जिन्दगी अभाव, दवाव र तनावमा बित्दछ । तर, परिआउंदा उसको चिनजानले खुबै काम गर्छ । यसपालि पनि त्यस्तै भयो । डाक्टरले शल्यक्रियाको दिन तोके । तीन दिन पहिला कलेजो लिने व्यक्तिलाई र दुई दिन पहिला दातालाई अस्पतालमा भर्ना गरियो ।

सरसाउदी श्रीमतीलाई शल्यक्रियाका क्रममा तलमाथि केही भए म आफैं जिम्मेवार हुनेछु भनि हस्ते गर्न विवश थिए उनी । मजबुरीका नाम महात्मा गान्धी भन्ने भनाइ दिल्लीमा खुब प्रचलित छ । शान्ताको समर्पणभावका सामू उनी बाध्य थिए ।

सबै कुरा ठीक भएपछि कलेजो प्रत्यारोपण सुरु भयो । एक, दुई गर्दागर्दै २३ घण्टासम्म शल्यक्रिया चल्यो । शान्ता करिब ४८ घण्टा अचेत रहिन । डाक्टर शर्मा उनीभन्दा धेरै समय बेहोस रहे । होस नखुलुन्जेल सबैलाई के हो के हो भन्ने लागिरह्यो । जब दुबैको होस खुल्यो । खुशीको बहार छायो । होसमा आउंदा शान्ता शान्ता दिइनन्, जीवनदान गर्ने साक्षात देवीमा परिणत भइसकेकी थिइन् ।

दुई महिना आयु तोकिएका डाक्टर शर्मा अहिलेपनि हट्टाकट्टा छन् । सक्रिय जीवन जिइरहेका छन् । विराटनगर शिक्षण अस्पतालको कार्यकारी पदमा छन् । शान्ताको घरगृहस्थी चलेकै छ । उनले शान्ता फाउण्डेशन नामक संस्था खोलेर समाजसेवाको क्षेत्रमा केही गर्ने प्रयास गरिरहेकी छन् । कलेजो दान गरेयता तीन तीन महिनामा दिल्ली गइरहनु पर्दथ्यो स्वाश्थ्य परीक्षणका लागि ।

अहिले छ महिना बिराएर दिल्ली गइरहन्छिन् । अब बर्षमा एक पटक जांदा पुग्छ । उनले जानेरै यो सब हैरानी लिएकी हुन् । त्यसैले हरेश खाएकी छैनन् । कलेजो दान गर्दा शरिर कहिलेकाही भारी भइरहन्छ । गहुंङ्गो काम गर्न हुंदैन । तरपनि केही छैन । मन चंगा छ ।

उनलाई केही गर्ने अठोट छ । उनले संगठित प्रयास थालेकी छन् शान्ता फाउण्डेसन संस्थामार्फत । उनले दुनियांले ख्याल नगरेको काममार्फत आफूलाई सेवामा समर्पित गरेकी हुन् । कलेजो दानका बारेमा कमैलाई थाहा थियो । अस्पतालमा आएका मानिसले समेत कलेजो दान गर्न मिल्छ र ? भनेर सोध्दथे ।

खाशमा कलेजो पूरै दिने होइन । कलेजोमा पत्रपत्र हुन्छ । सो मध्ये आवश्यक तीस प्रतिसत कलेजो दान गर्ने हो । प्रत्यारोपण भनेको अर्को मानिसकोमा लगेर रोप्ने हो । तीस प्रतिसत कलेजो बढेर पूर्ण आकारमा पुग्छ । यता, दाताकोपनि पहिलेकै ठाऊंमा आइपुग्छ । नेपालमा कलेजो प्रत्यारोपणको सुविधा नहुनाले धेरै कलेजो विरामीको मृत्यु हुने गर्दछ । पैसा हुनेहरुले विदेशमा गएर उपचार गर्दछन् ।

कलेजो प्रत्यारोपणको लागि चाहिने प्रविधि र विशेषज्ञ सेवा जस्तै एनेस्थेसिया, क्रिटिकल केयर सिर्भस, इन्टरभेन्सन रेडियोलोजी, प्याथोलोजी, हेपाटोलोजी पल्मोलजी, इन्फेक्सन डिजिज, इम्युनोलोजी ट्रान्स्पलान्ट एनेस्थेसियाको आधुनिक सुविधा नेपालमा उपलब्ध छैन । यी सुविधाहरु २४ सै घण्टा उपलब्ध हुनुपर्छ । कलेजो प्रत्यारोपण खर्चिलो र जटिल हुने गर्दछ । भारतमा कलेजोको प्रत्यारोपण गर्दा ४० लाखदेखि ५० लाखसम्म लाग्ने बताइन्छ ।

कलेजो प्रत्यारोपणका बारेमा मुलुकमा उतिसारो बहश छैन । तर, यो बहश गर्नैपर्ने विषय हो । शान्ताले कलेजो दान दिएपछि मिडियाजगतलाई केही आर्कषित गर्यो । पत्रकार दाहालले शान्ताले गरेको दान र आफ्नो अनुभवलाई आधार बनाइ उपन्यास शान्ता लेखे । बर्दिया गुलरिया माइति भएकी शान्ताले अनायशै मोलेको जोखिम र त्यसपछिको संर्घष उपन्यासमा समेटिएको छ ।

परिवार सानो छ । एक छोरी र एक छोरा दुबै इन्जिनियर छन् । काठमाडौंमा एउटा कुटीपनि छ । शान्ताको स्वाश्थ्यलाई लिएर परिवारमा चिन्ता छाइरहन्छ । शान्ताले दान गरेकै भरमा डाक्टर गोविन्द जिवित छन् भन्ने सम्झदा बित्तिकै गर्वले छाति फुल्छ । शान्ताले आर्दश काम गरिन्, भलै यसले व्यवहारिक जीवनमा व्यथा थपेको होस् । चेली हुन त शान्ताजस्तो समाजमा चर्चा जो छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up