९८ बर्षिय वृद्ध नन्दमायाले ४३ रोपनी जग्गा दान दिइन् तर गाउँलेले १४ रोपनी मात्र लिए

बिमला निरौला, ताप्लेजुङ

नन्दमाया गुरुङको उमेर भयो ९८ वर्ष । स्वभाव कस्तो अनौठो छ भने जे बोल्यो पुराइहाल्नुपर्ने । बोलेपछि बोल्यो बोल्यो । तर, जथाभावी बोल्दिनन् । विचार पुराएर बोल्छिन् । किनभने दुःखसुख र अनुभवले खारिएकी छिन् । त्यसै बितेको छैन ९८ वर्ष ।

ताप्लेजुङ फुङलिङ नगरपालिका ९ हाङ्देवामा घर छ । घरबाट अलि पर बारी छ । बारी सम्म र फराकिलो छ । बारी बाँझो भएको बेला युवा तथा बालबालिकाहरु फूटबल खेल्थे । गाउँमा जनसंख्या बढ्दै गयो, युवा र बालबालिकाको संख्या बढ्दै गयो । खेल्ने ठाउँ भएन । सबैको खेल्ने ठाउँ बन्यो नन्दमायाको बारी । त्यसपछि फूटबल खेलिदिएका कारण खेति लगाउन पनि सकिनन् ।

यहाँ नन्दमायाको वर्णन गर्दा एउटा प्रश्न राखौं । प्रश्न हो– खेति गर्ने आफ्नो बारीलाई गाउँका युवाहरुले खेल मैदान बनाएको को हेरेर बसिरहन्छ ? कसले मान्छ ?

यो प्रश्नको जवाफ सामान्यता ‘मान्दैन’ भन्ने आउँछ । तर, नन्दमाया भने युवाहरुले बारीलाई खेल मैदान बनाउँदा खुसी थिइन् । बारीमा युवा तथा वालवालिकाहरु फुटबल खेल्थे, अनेक खेल खेल्थे । अरु भए लाठो लिएर लखेट्न जान्थे । तर, नन्दमाया भने सकिनसकी हिँडेर खेलमैदान बनेको बारीमा पुग्थिन् र युवाहरुको खेल हेर्थिन् । हौसला दिन्थिन् ।

‘असाध्यै आनन्द आउँछ मेरा नाति पनाति उमेरका यी केटाहरुले खेलेको देख्दा’, नन्दमाया भन्छिन् ।

युवाहरु खेल्थे, नन्दमाया हेरेर बस्थिन् । नन्दमायालाई युवाहरु असाध्यै माया गर्ने, नन्दमाया पनि युवाहरुलाई माया गर्ने । खेति गर्ने आफ्नो बारी खेल मैदान बनाउन दिएकोमा अनुगृहित थिए युवाहरु ।

९८ वर्षिया वृद्ध । जीवनको के भर ? एकदिन खेलिरहेको बेला नन्दमाया मैदानमा पुगिन् । युवाहरुले भने, ‘बोजू, तपाईं भएकोले हामी यसरी खेल्न पाएका छौं, तपाईं नरहनुभएपछि खेल्न पाउँदैनौं ।’

सामान्य रुपमा भनेका थिए युवाहरुले । नन्दमायाको ह्रदयमा ठक्कर दियो यो वाक्यले । ‘केटाहरुले मलाई त्यसो भने, मलाई त साह्रै चिन्ता लाग्यो । केटाहरुको माया लाग्यो,’ नन्दमाया भन्छिन् ।

त्यसपछि नन्दमायाले एउटा आश्यर्चजनक निर्णय गरिन् । उनको निर्णयले परिवार स्तब्ध भयो, समाज चकित भयो । विश्वाश नै गर्न नसकिने निर्णय !

नन्दमायाले भनिन्– ‘म फ्याट्टै मरें भने यी गाउँका केटाहरुले खेल्न पाउँदैनन् । त्यसैले खेल मैदान बनाउन मेरो सबै जग्गा दिन्छु ।’

अविश्वशनीय थियो नन्दमायाको घोषणा । सुरुमा त गाउँका युवाहरुले विश्वाश नै गर्न सकेनन् । नन्दमाया भन्न थालिन्, ‘चाँडो जग्गा पास गरेर लैजाओ ।’

अलिअलि होइन, ३९ रोपनी जग्गा ।

अनि, नन्दमायाले नदिने भन्ने कुरै थिएन । नन्दमायाले बोलेपछि बोल्यो बोल्यो, बोलेपछि गरेर छाड्छिन् भन्ने सबैलाई थाहा थियो ।

नन्दमायाले जग्गा दिने भइन् तर लिने कसरी ? समस्या भयो । व्यक्तिको नाममा जग्गा लिएर नहुने । कुनै संस्था चाहियो । त्यसपछि एउटा क्लब दर्ता गठन गर्ने निर्णय स्थानीयले गरे । क्लबको नाम के राख्ने ? अहँ, नाम खोज्न कुनै समस्या भएन । नाम साक्षात अगाडि थियो । नाम हो– नन्दमाया स्पोर्टिङ क्लव । स्थानीयको भेलाले ताली बजाएर शानदार ढंगले यो नाम पारित गरे ।

क्लबको नाम नन्दमाया भन्दा बाहेक अरु केही हुनै सक्दैनथ्यो । क्लब दर्ता भयो ।

३९ रोपनी जग्गा केके गर्ने ? गाउँमा छलफल हुन थाल्यो । छलफलले अर्काे अनौठो निर्णय गर्यो । पूरै ३९ रोपनी जग्गा नलिने । खेल मैदान बनाउन १४ रोपनी पर्याप्त हुन्छ, त्यति मात्र लिने ।

जग्गा दान दिने निर्णय गरेर नन्दमायाले महानता प्रदर्शन गरिन्, चाहिए जति मात्र जग्गा लिने निर्णय गरेर स्थानीयले अर्काे महानता देखाए ।

साविकको हाङ्देवा गाविस २ सैसेले निवासी नन्दमायाले क्लवका नाममा रजिष्टे«शन पास गरिदिइन् । पास गर्न औठाछाप लगाउँदा प्रफुल्ल देखिन्थिन् नन्दमाया ।

नन्दमाया क्लवका सचिव समेत रहेका घनेन्द्र गुरुङका अनुसार सो जग्गामा नगरपालिकाले व्यवस्थित खेल मैदान बनाइदिने भएको छ ।

तीन छोरा र चार छोरीकी आमा हुन् नन्दमाया । जेठा छोराको गत वर्ष देहान्त भयो, उनी जेठी बुहारी देवी गुरुङस“ग बस्छिन् । माइला छोरा घर नजिकै बस्छन्, कान्छो तराइमा छन् । छोरीहरु आ–आफ्नो घरमा छन ।

नन्दमायालाई फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल, उप–प्रमुख तारा भट्टराई, वडाध्यक्ष तारा बराल लगायतले घरमै गएर अभिनन्दन गरेका छन । मेयर प्याकुरेल भन्छन्, ‘हजुरआमाको काम एकदमै सह्रानीय छ ।’

नन्दमायाले दिएको जग्गाको न्यूनतम ४२ लाख रुपैयाँ पर्ने आकलन गरिएको छ ।

नन्दमाया भन्छिन्, ‘यो ठाउँमा राम्रा र ठूला खेल भएको देख्न मन छ ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up