५४ लाखले बोल्ने भाषा छोडेर ८ हजारले बोल्ने भाषाको पछि किन कुदेका छन मधेसी दलहरु ?

नयाँबाटो, प्रदेश २ मा मैथिली भाषा पहिलो स्थानमा रहेको छ । त्यहाँ मैथिली भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्न कठिनाइ देखिँदैन । मैथिली भाषामा अध्ययन-अनुसन्धानको लामो परम्परा रहेको छ । यो भाषा विश्वविद्यालय तहमा समेत पठनपाठन हुने गर्दछ । त्यसकारण पनि आवश्यक कानुनी व्यवस्था मिलाएर यसलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिन्छ । मैथिली भाषामा संरचनागत विकास पनि भएकाले यसको मानकीकरणमा त्यति जटिलता छैन ।

तराई-मधेसमा हिन्दीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गर्न पाउनुपर्ने माग भइरहेका सन्दर्भमा प्रदेश नम्बर २ मा हिन्दी भाषाको स्थितिका बारेमा कुरा गर्दा नेपालको जनगणना २०६८ मा उल्लेख भएअनुसार यो भाषा मातृभाषाका रूपमा बोल्ने वक्ताहरूको संख्या भने धेरै छैन । जनगणनाको तथ्यांकअनुसार यो नेपालको बीसौं ठूलो भाषा हो । तर नेपालको तराई क्षेत्रमा दोस्रो भाषाका रूपमा र आम सम्पर्कको रूपमा हिन्दी भाषाको प्रयोग हुने गर्दछ । यसै आधारमा र सो प्रदेशमा मैथिलीबाहेक अन्य भाषाहरू पनि बोलिने कारणले हिन्दीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गरिन पाउनुपर्ने माग गरिएको छ ।

प्रदेश नम्बर २ मा हिन्दीलाई सम्पर्क भाषाको रूपमा माग गर्नेहरूले सो प्रदेशमा मैथिलीबाहेक अरू थुप्रै भाषाहरू बोलिने भएकाले समेत यसलाई सम्पर्क भाषा बनाउन माग गरेका छन् । राष्ट्रिय जनगणनाको प्रतिवेदनलाई आधार मान्दा यस प्रदेशमा हिन्दीलाई मातृभाषाको रूपमा बोल्नेहरूको संख्या ८६२५ मात्रै छ । यसर्थ मातृभाषीहरूको संख्यालाई मात्र आधार लिँदा हिन्दी भाषा सजिलै सरकारी कामकाजको रूपमा प्रयोग गर्न सकिने समान भाषावैज्ञानिक आधार देखिँदैन । नेपालमा हिन्दी भाषाको विश्वविद्यालय तहमा विषयका रूपमा समेत पठनपाठन हने गरेको छ । तर कुन भाषा कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा एउटा मात्रै कारणले निर्धारण गर्दैन । यसका अन्य आधारहरूसमेत विचारणीय हुन्छन् ।

सप्तरी: मिथिला क्षेत्रमा बोलिने भाषा नै मिथिला भाषा भनेर नामकरण भएको हो । उहिले उक्त भाषालाई हिन्दी अथवा बंगली भाषाको एक भाषिका मानिन्थ्यो । तथ्यांकमा उल्लेख भए अनुसार सप्तरी जिल्लामा तीन चौथाइ भन्दा बढी जनताको मातृभाषा मैथिली हो । उक्त जिल्लाको कुल जनसंख्यामध्ये तराई दलित र मधेसी समुदायको जनसंख्या ६५.९४ प्रतिशत छ ।

त्यो तथ्यांकमा तराई जनजाति, मुस्लिम र अन्यको संख्या समावेस छैन । तर जनसंख्या सम्बन्धी तथ्यांकमा उल्लेख भए अनुसार सप्तरीमा मैथिली भाषालाई मातृभाषा मान्नेको संख्या ५ लाख ५ हजार ८ सय सन्तानब्बे छ । त्यो आंँकडा अनुसार सप्तरीको ७९.१४ प्रतिशत जनसंख्याको मातृभाषा मैथिली हो ।

उसो त सप्तरीमा पहाडे जनजाति, पहाडे दलित, पहाडे क्षेत्री बाहुन र मुश्लिमको जनसंख्या मात्र १५.४२ प्रतिशत छ ।

उता जनसंख्याकै तथ्यांकमा मुस्लिमहरु सप्तरीमा ५७ हजार १ सय ४५ संख्यामा छन् भन्ने छ । जब कि मुस्लिमले बोल्ने उर्दू भाषीको संख्या सप्तरीमा २४ हजार ६ सय १९ जना रहेको जनाइएको छ । यसले मुस्लिम सबैले उर्दू भाषा बोल्दैनन् बरु केहीले मैथिली नै बोल्छन् भन्ने पुष्टि हुन्छ ।

सप्तरी जिल्लामा गैरमैथिली भाषीहरु जम्मा २०.८६ प्रतिशत छन् । मैथिलीपछि थारु, नेपाली र उर्दू भाषी क्रमशः १०.४०, ४.११ र ३.८६ प्रतिशत छन् ।

भोजपुरी र बज्जिका भाषा बोल्ने क्रमशः ०.०९ र ०.०१ प्रतिशत छन् । हिन्दी भाषीको संख्या ५ सय ६५ जनामात्रै छ । नेपाली भाषालाई आफ्ना दोस्रो भाषा मान्ने ४०.४७ प्रतिशत जनसंख्या छ । हिन्दी र मैथलीलाई दोस्रो भाषा मान्ने क्रमशः ५.९५ र ३.०१ प्रतिशत जनसंख्या छ ।

उता भारतमा करिब ३ करोड संख्यामा मैथिली भाषी छन् । उत्तर बिहारको मधुवनी, दरभंगा, समस्तीपुर, मुजˆर्फपुर, सीतामाडी लगायत १ दर्जन बढी जिल्लामा मैथिली भाषा बोलिन्छ ।

सिराहाः सिराहामा मैथिली भाषा बोल्ने सबैभन्दा बढी ८५.८२ प्रतिशत जनसंख्या छ । नेपाली र उर्दू भाषा बोल्ने मात्र ४.३० र ३.६० प्रतिशत जनसंख्या छ । भोजपुरी र बज्जिका भाषा बोल्नेको संख्या क्रमशः सिराहामा चौधौं र एक्काइसौं स्थानमा छन् । तिनीहरुको संख्यामा ०.०५ र ०.०१ प्रतिशत मात्रै छ ।

सिराहामा नेपाली भाषालाई आफ्नो दोस्रो भाषा मान्ने ४२.८६ प्रतिशत जनसंख्या छ । त्यसैगरी हिन्दीलाई आफ्ना दोस्रो भाषा मान्ने ४.९५ प्रतिशत जनसंख्या । मैथिलीलाई दोस्रो भाषा मान्ने ३.२१ प्रतिशत जनसंख्या छ ।

धनुषाः धनुषामा ८५.७८ प्रतिशत जनसंख्याले मैथिली भाषा बोल्छन् । नेपाली भाषा बोल्ने ४.४७ प्रतिशत जनसंख्या छ । तेस्रो स्थानमा मगदी भाषा बोल्ने ३.०६ प्रतिशत जनसंख्या छ । भोजपुरी र बज्जिका बोल्ने क्रमशः ०.०५ र ०.०१ प्रतिशत जनसंख्या छ । त्यहाँ १ हजार ४ जनाले हिन्दी मातृभाषाका रुपमा बोल्छन् ।

यो जिल्लामा ३६.२२ प्रतिशत जनसंख्याले नेपाली भाषालाई दोस्रो भाषा मान्दछ । हिन्दी र मैथलीलाई दोस्रो भाषा मान्ने क्रमशः ९.५१ र २.८८ प्रतिशत जनसंख्या छ ।

महोत्तरीः यो जिल्लामा ८०.५८ प्रतिशत जनसंख्याले मैथिली भाषा बोल्छन । उर्दू र नेपाली भाषा बोल्नेको संख्या क्रमशः ७.२७ र ५.५७ प्रतिशत छ । भोजपुरी ०.१५ प्रतिशत र बज्जिका ०.०२ प्रतिशत जनसंख्याले बोल्छन् । १ हजार ५ सय ३६ जना हिन्दीभाषी छन् । महोत्तरीमा ३५.१५ प्रतिशत जनसंख्याले हिन्दीलाई आफ्ना दोस्रो भाषा मान्दछन् । २३.०४ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषा मान्छन् ।

सर्लाही: सर्लाहीमा बज्जिका भाषा बोल्ने ४९.०२ प्रतिशत जनसंख्या छ । भारतको बिहारस्थित बैशालीमा बज्जिका भाषाको उदभव भएको मानिन्छ । उहिले लिच्छवी कालमा वैशालीमा बज्जिका भाषा बोलिन्थ्यो । हिजोआज वैशाली बिहार राज्यको एक जिल्ला हो । बिहारमा १ कडोड १५ लाख बज्जिका भाषी छन् ।

यता सर्लाहीमा बज्जिकापछि मैथिली र नेपाली भाषा बोल्ने क्रमशः २१.२५ र ११.८१ प्रतिशत जनसंख्या छ । भोजपुरी ०.९० प्रतिशत जनसंख्याले बोल्छन् । हिन्दी मातृभाषा मान्ने २ हजार ३४ संख्यामा छन् । दोस्रो भाषामा हिन्दी बोल्ने सबैभन्दा बढी यही जिल्लामा ३६.२६ प्रतिशत जनसंख्या छ । यहाँ नेपालीलाई दोस्रो भाषा मान्ने २०.८३ प्रतिशत जनसंख्या छ । त्यसपछि बज्जिका र मैथिली दोस्रो भाषा मान्नेे जनसंख्या छ ।

रौतहटः यो जिल्लामा बज्जिका भाषा बोल्ने ६०.२७ प्रतिशत जनसंख्या छ । उर्दू, नेपाली, भोजपुरी र मैथिली बोल्ने क्रमशः १९.२५, ६.१३, ४.३० र ३.०० प्रतिशत जनसंख्या छ । हिन्दी भाषी ८ सय ४१ को संख्यामा मात्रै छन् । हिन्दी र नेपालीलाई दोस्रो भाषा मान्ने क्रमशः ३०.३७ र १६.७७ प्रतिशत जनसंख्या छ । त्यसपछि भने भोजपुरी, बज्जिका र मैथिलीलाई दोस्रो भाषा मान्नेहरुको बाहुल्यता छ ।

बाराः बारा जिल्लामा भोजपुरी भाषा बोल्ने ७२.०३ जनसंख्या छ भन्ने ०६८ को जनगणना तथ्यांकले देखाउँछ । भोजपुरी भाषा बिहारस्थित भोजपुरबाट नामकरण भएको मानिन्छ । हिजोआज बिहारमा एक जिल्लाको नाम नै भोजपुर नामाकरण भएको छ । भारतमा करिब ३ करोड ७८ लाख भोजपुरी भाषी छन् ।

यता बारा जिल्लामा भोजपुरी भाषापछि नेपाली, थारु, मैथिली बोल्ने क्रमशः ९.६७, ७.५१ र ३.८२ प्रतिशत जनसंख्या छ । बज्जिका भाषा बोल्नेको जनसंख्या २२ औं स्थानमा अर्थात ०.०२ प्रतिशत मात्र छ । ५ सय ७ जना हिन्दी भाषी छन् ।

नेपाली, हिन्दी र भोजपुरीलाई दोस्रो भाषा मान्ने जनसंख्या बारामा क्रमशः ३०.६०, १६.४७ र ३.१८ प्रतिशत छन् ।

पर्साः यो जिल्लामा भोजपुरी भाषा बोल्ने जनसंख्या प्रतिशत सबैभन्दा बढी छ । पर्सामा ७८.१४ प्रतिशत जनसंख्याले भोजपुरी भाषा बोल्छन् । नेपाली र मैथिली भाषा बोल्ने क्रमशः ६.४३ र ५.१० प्रतिशत जनसंख्या छ । हिन्दी भाषी १ हजार ५ सय ३० संख्यामा छन् । नेपाली र हिन्दीलाई दोस्रो भाषा मान्ने क्रमशः ३०.४२ र ४.८७ प्रतिशत जनसंख्या छ । गज्जब के पनि छ भने भोजपुरीलाई दोस्रो भाषा मान्नेहरु पर्सा जिल्लामा ५.४२ प्रतिशत छन् ।

प्रदेश नं २ को भाषिक तथ्यांक:

मैथली: २४४७९७८
भोजपुरी: १००३८७३
बज्जीका: ७९१६४२
नेपाली: ३६०२७६
मगही: ३१०४८
उर्दु: ३१०६७२
हिन्दी: ८६२५

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up