थामिएन एक आमाको आँसु, प्रकाशको नाम र फोटो देख्नेबित्तिकै भावुक भइहाल्छिन्

चितवन – छोरा प्रकाश दाहालको असामयिक निधन भएपछि आमा सीता दाहालले अझै शोकलाई शक्तिमा बदल्न सकेकी छैनन् ।

छोरा गुमाएको तीन महिना पुग्नै लाग्दा पनि आमाको आँखामा आँशु थामिएको छैन । प्रकाशको नाम र फोटो देख्नेबित्तिकै सीता भावुक भइहाल्छिन् । र, आँखाबाट अविरल रुपमा बर्सिन थाल्छ आँसु । उनी सकिनसकी आँशु पुछेर सामान्य हुन खोजे पनि पुत्र वियोगको पीडाले भक्कानो छुटाइदिन्छ ।

सीता अझै सम्हालिएकी छैनन् । उनलाई हिँड्डुल गर्न र उठबस गर्न पनि अरूकै सहारा चाहिन्छ । साथमा पति प्रचण्ड रहे पनि उनले सीताको रेखदेख गर्न भ्याउँदैनन् । कहिले छोरीहरु त कहिले आफन्तले सीताको निरन्तर हेरचाह गरिरहेका हुन्छन् ।

प्रकाश दाहालको निधनपश्चात् पटक–पटक चितवनका सार्वजनिक कार्यक्रममा प्रचण्डसँगै सरिक हुँदै आएकी सीता आइतबार भरतपुर गेष्ट हाउस चौरमा भएको कार्यक्रममा पनि मन बुझाउन हम्मेहम्मे भयो ।

कारण थियो– मञ्चको दायाबाया भागमा टाँगिएका ठूला पोस्टरमा छोरा प्रकाशको ढाकाटोपी लगाएको तस्बिर राखिएको थियो । मञ्चमा रहेका बेला प्रकाशको तस्बिरमा आँखा पर्नेबित्तिकै उनी घोप्टो परेर रुन्थिन । बेलाबेला चस्मा टाउकोमा सार्दै आँशु पुछेको दृष्यले उपस्थित दर्शकदीर्घासमेतलाई भावुक बनाएको देखिन्थ्यो ।

चितवनमा सुरू भएको मुवा थाइ प्रतियोगिताको उद्घाटन गर्न प्रचण्ड, सीता र भरतपुर महानगरकी मेयर अर्थात् छोरी रेनु कार्यक्रमस्थलमा पुगेका थिए ।

प्रकाश दाहालको स्मृतिमा आयोजित खेलको प्रमुख अतिथि रहेका प्रचण्ड पनि निकै भावुक देखिएका थिए । अन्यबेला राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डले छोरा प्रकाशको स्मृतिमा खेल आयोजना गराएकोमा आयोजकलाई धन्यवाद दिँदै मन्तव्य टुंग्याए ।

प्रचण्डले मञ्चमा स्व. प्रकाशको नाम लिइरहँदा आमा सीता भने मञ्चमै टाउकोमा दुई हात लगाएर टोलाएकी थिइन् । सीता बेलाबेलामा सोचमग्न हुँदै पानी पिइरहेको दृश्यले पुत्र वियोगको शोकलाई शक्तिमा बदल्न सकेकी छैनन् भन्ने स्पष्ट संकेत देखिएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up